मकवानपुर : ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङ्ग( कालिवन ) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो ।

कम्पनीको ४४ कठ्ठा जमिनमा च्याउसँगै च्याउको बिउ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि संचालन गरिने ईन्द्रेणी मसरुम फार्म लिमिटेडका अध्यक्ष धर्मेन्द्र महर्जनले बताए । उच्च प्रविधिको प्रयोग गरेर च्याउ उत्पादन गर्ने महर्जनले जानकारी दिए । असोज महिनादेखि दैनिक १ हजार र अर्को वर्षदेखि दैनिक ३ हजार किलो च्याउ उत्पादन गर्ने महर्जनले बताए । सामरी युनिटमा ३ वर्षमा १५ करोड लगानी गर्ने र पछि थप ९ करोड रुपैयाँ लगानी गर्ने महर्जनले बताए । आगामी भदौ महिनादेखि कम्पोष्ट मल र असोज महिनादेखि च्याउ उत्पादन गरी नेपाल भर वितरण गर्ने भन्दै महर्जनले च्याउ उत्पादन तालिमसँगै च्यउको बिउ पनि बिक्री गर्ने लक्ष्य रहेको बताए ।

उक्त शिलान्यास कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यहरु केशव प्रसाद पोखरेल, विन्दु श्रेष्ठ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर -५ का अध्यक्ष रिपेश दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै, शिलान्यास कार्यक्रममा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर -६ का अध्यक्ष कृष्णप्रसाद बजगाई, निवर्तमान वडा अध्यक्ष टीका दाहाल, अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगाललगायतको आतिथ्य रहेको थियो, भने पत्रकार निराज रानाभाट, प्रहरीहरुलगायत स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।

