धादिङ, ९ साउन ।
धादिङमा ८३ वर्षीय वरिष्ठ कवि नन्दप्रसाद अधिकारीद्वारा रचित “नन्दानुभूति” कविता संग्रहको बिमोचन गरिएको छ। धादिङका साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थितिमा उहाकै निजि निवास नीलकण्ठ नगरपालिका -७ तल्लो बेसीमा आयोजित कार्यक्रममा यस कृति सार्वजनिक गरियो।
कार्यक्रममा विभिन्न स्थानीय साहित्यिक व्यक्तित्वहरूले अधिकारीको कवितामा व्यक्त भावना, अनुभूति र समाजप्रति गरिएको प्रहारको सराहना गरेका थिए। “नन्दानुभूति” मा जीवनका गहिरा अनुभूति, सामाजिक सन्देश, गाउॅले परिवेस र राष्ट्रप्रेम झल्कने कविता समावेश गरिएको छ।
कवि अधिकारीले लामो समयदेखि साहित्य साधनामा सक्रिय रही थुप्रै सृजनाहरूमार्फत पाठकको मन जित्दै आएका छन्। बिषेश गरेर उहॅाके सिलोक भाका चर्चामा छ । विमोचन कार्यक्रममा उनले केहि सृजनाहरु वाचन गर्दै भने,
“यो उमेरमा पनि कलम चल्न छाडेको छैन, जीवनका रहर, पीडा र अनुभूति लेख्दै आएको छु विशेष मेरो छोरीहरुलाई धेरै धेरै धन्यवाद ! यो पुस्तक निकाल्न छोरीहरुकै ठुलो हात छ ।”
कार्यक्रमको संयोजन स्थानीय साहित्य परिषदले गरेको थियो।
“नन्दानुभूति” कविता संग्रहले नेपाली साहित्यमा नयाँ ऊर्जा भर्ने विश्वास गरिएको छ।
