धादिङ, भदौ १७ । नीलकण्ठ नगरपालिका–४ मा जेष्ठ नागरिक, अपाङ्गता, अशक्त र शारीरिक कमजोरी भएका लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्य आजदेखि सुरु भएको छ ।
वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार शारीरिक अवस्था वा अन्य कारणले कार्यालयसम्म आउन नसक्ने सेवाग्राहीलाई लक्षित गरी वडास्तरीय टोली घरघरमै पुगेर सेवा प्रदान गर्न थालेको हो । उनले भने, “यस अभियानमार्फत अपाङ्गता भएका, शारीरिक रूपमा अशक्त वा जेष्ठ नागरिकलाई घरदैलोमै सेवा पु¥याउँदा उनीहरूको सम्मान र सुविधा दुवै सुनिश्चित हुन्छ ।”
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार प्रत्येक आर्थिक वर्षको भदौ मसान्तसम्म लाभग्राहीको परिचयपत्र नवीकरण अनिवार्य हुने प्रावधान छ । सोही व्यवस्था अनुसार वडाले यस वर्ष पनि टोलटोलमै पुगेर सेवा दिने अभियान सञ्चालन गरेको हो ।
यसै क्रममा भदौ १७ गतेदेखि २२ गतेसम्म वडा नं. ४ का विभिन्न टोल–टोलमा सेवा दिने कार्यक्रम तय गरिएको छ । रिजालथोक, ढाँडखर्क, बिमिरे, राम्चे, सिमपानी, अल्छी डाँडा, पौँवा, पारिगाउँ, खानीगाउँ, सिम्लेगैरी, रायटार, बेसारे, थापागाउँ र बजार क्षेत्रलगायत स्थानमा वडाका कर्मचारी, प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थितिमा परिचयपत्र नवीकरण हुने वडाले जानकारी दिएको छ ।
यस पहलले लक्षित वर्गलाई सहज, सम्मानजनक र नजिकको सेवा उपलब्ध गराउँदै सामाजिक सुरक्षाको पहुँचलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
