Skip to main content

Sacho TV

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किए

काँकडभिट्टा साउन ६॥ बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।

“पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए।

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए ।

आज दिउँसो काँकडभिट्टा आइपुग्नु भएकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताए ।

इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । “कलेजका प्राध्यापक र कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो”, उनले भने, “कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ ।”

आज मात्रै नौ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिए । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।

रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताए । काठमाडौं निवासी उनले भने, “एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।”

उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए ।

सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाए । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उनको भनाइ थियो ।

उनले भने, “आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।”

बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताइन्। विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् ।

पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् ।काठमाडौं र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...